12.1 C
Kathmandu
January 17, 2022
प्रवास समाचार

बंगलादेशको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै ।

चैत,१० काठमाडौं । बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

दुई पक्षीय सहकार्यको प्रचुर सम्भावना हुँदाहुँदै पनि विगत पचास वर्षमा दुई देशको सम्बन्धले अपेक्षाकृत गति लिन नसकेकाे निस्कर्ष निकालिएकाे छ ।

तर, पछिल्ला केही वर्षयता दुई पक्षीय सम्बन्धमा केही गुणात्मक परिवर्तन आएको छ । दुई पक्षीय आदान प्रदान मात्र बढेको छैन्, दुई पक्षीय सहकार्यका क्षेत्रहरुमा केही प्रगति भएको छ ।

उच्चस्तरमा सुरु भएको भ्रमणले त्यसमा थप उत्साह थपेको छ र कर्मचारीतन्त्रमा सीमित रहेका एजेण्डा राजनीतिक तहमा पुगेका छन् ।

यस अर्थमा भण्डारीको भ्रमणले दुई पक्षीय सम्बन्ध थप प्रभावकारी हुने छ । दुई वर्ष अगाडि बंगलादेशका अब्दुल हमिद नेपालको राजकीय भ्रमणका आएका थिए ।

बंगलादेश स्वतन्त्र देश भएपछिका वर्षहरुमा केही उच्चस्तरका भ्रमणहरु भए पनि त्यसपछि लामो समयसम्म भ्रमण हुन सकेन।

सार्कलगायतका क्षेत्रीय प्लेटर्फम र अन्य फोरममा सरकार र राज्य प्रमुखहरुको बीचमा साइडलाइन वार्ताहरु भए पनि दुई पक्षीय भ्रमणहरु भएनन् । जसले गर्दा दुई पक्षीय सहकार्यका कैयौं विषयहरु ठोसरुपमा अगाडि बढ्न सकेन् । पछिल्लो समयमा उच्चस्तरको भ्रमणसँगै अब सहकार्य अगाडि बढ्ने स्पष्ट संकेतहरु देखिएका छन् ।

भण्डारीको भ्रमणमा दुई देशको बीचमा चारवटा सम्झौताहरु भएका छन् । दुई देशको बीचमा रहेको पारवहन सम्झौतामा केही परिवर्तन गरिएको छ ।

जसअनुसार तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले बंगलादेशको थप रेलवे लाइनको प्रयोग गर्न भूपरिवेष्ठित मुलुक नेपाललाई पारवहन सुविधा दिँदै आएको छ ।

नेपालले आफ्नो व्यापार र पारवहन सम्बन्धलाई विविधीकरण गर्ने नीति लिएको छ । त्यसैले भारत र चीनसँग नेपालले अब बंगलादेशले प्रदान गरेको पारवहन सुविधालाई अधिकतमरुपमा प्रयोग गर्ने र त्यसलाई विस्तार गर्ने नीति लिनु आवश्यक छ ।

त्यसैगरी दुई देशको बीचमा पर्यटन विस्तार गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ । दुई मुलुकको बीचमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसको समुचित प्रवर्द्धन हुन सकेको थिएन् । त्यसैगरी दुई मुलुकको बीचमा सांस्कृतिक आदान-प्रदानलगायतका विषयमा पनि सहमति भएको छ ।

पछिल्लो समयमा दुई देशको बीचमा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा केही प्रगति भएको छ । भण्डारीको भ्रमणमा पनि यो विषयले विशेष प्राथमिकता पाएको छ । त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको बीचमा सहकार्य आवश्यक भएको बताइन् ।

नेपालमा ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको र बंगलादेशमा ऊर्जा संकट रहेकाले नेपालबाट उता ऊर्जा निर्यात गर्न सकिने विषयमा लामो समयदेखि छलफल चलिरहेको छ ।

अघिल्लो साता नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गदै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपालको बिजुली बंगलादेश निर्यात गर्नका लागि पारवहन सुविधा दिन तयार रहेको उल्लेख गरेका छन् ।

नेपाल र बंगलादेशको बीचमा उच्चस्तरमा छलफलपछि अब तीन देशको बीचमा कर्मचारी तहमा छलफल गर्ने वातावरण बनेको छ ।

यसै साता हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणमा पनि यो विषयले प्राथमिकता पाउने सम्भावना छ किनभने लामो समयदेखि बंगलादेशको नेतृत्वले भारतसँग यो विषय उठाउँदै आएको छ ।

त्यसैले दुई देशको बीचमा अहिले विकसित हुँदै गएको राजनीतिक सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक छ । सहकार्यको ठूलो सम्भावना भए पनि विगत पचास वर्षमा त्यति उपलब्धि हासिल हुन सकेन् ।

नेपालको बंगलादेसँगको सम्बन्ध व्यापार, पर्यटन र सांस्कृतिक हिसाबले मात्र होइन रणनीतिकरुपमा पनि निकै महत्वपूर्ण छ ।

सम्बन्धित समाचारहरु

के पि ओली सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरेको कांग्रेस नेता प्रकाशमान सिंहकाे आरोप

केशव सिंखडा

ने रे साे मैदी उपशाखा द्वारा नयाँ वर्षमा रक्तदान कार्यक्रम

केशव सिंखडा

ने‍‍रेसाे धादिङ द्वारा सर्वसाधारणलाई निशुल्क रगत उपलब्ध गराउने सम्बन्धि अन्तर्क्रिया तथा रक्तदान कार्यक्रम सम्पन्न

केशव सिंखडा